निर्मल अधिकारी
दैलेख, हाम्रो दैलेख जिल्ला, गुणस्तरीय शिक्षाको राम्रो किल्ला भन्ने मुल नाराका साथ साक्षर तथा अनिवार्य आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र प्रतिबद्धता कार्यान्वयनको आज घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालयको आयोजनामा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । पूर्ण साक्षर घोषणामा दैलेख ३४ औं जिल्ला तथा शान्ति क्षेत्र प्रतिवद्धता घोषणामा पहिलो जिल्ला भएको छ ।





शिक्षामा हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्दै विद्यार्थीलाई भय, डर र त्रासबाट मुक्त गरी सिकाई उपलब्धि बढाएर आय आर्जनमा संलग्न गराउने उद्धेश्यका साथ पूर्ण साक्षर जिल्ला तथा शान्ति क्षेत्र घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीको भनाई थियो । उनले थपे, वि.सं २००७ सालमा साक्षरता २ प्रतिशत थियो । प्रत्यक वर्ष १ प्रतिशतका दरले थपिदै २०६८ को जनगणना अनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत रहेको देखिन्छ । प्रत्येक जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहको घरधुरी सर्वेक्षण गरी देश भरीका ४० लाख निरक्षर हरुको तथ्याँक घटाउदै अहिले ९५ प्रतिश भन्दा बढी साक्षर बनाई ३३ जिल्ला साक्षर घोषणा भईसकेका छन् । दैलेख जिल्लाका ४३ हजार ७ सय ४१ घरधुरीमा रहेका ६४ हजार ६ सय ७४ निरक्षरमा जिल्ला शिक्षा कार्यालय र विभिन्न साझेदार सँंस्थाको सक्रियताले २०७३ सम्म ९७.६६ प्रतिशत साक्षर भएको अधिकारीले बताए ।
साक्षरतानै देश विकासको मुल आधार हो । शिक्षाले व्यक्तिको व्यक्तित्व, समाज र परिवार सभ्य बनाउन सहयोग गर्ने भएकाले पनि नेपालको संविधानले शिक्षालाई प्राथमिकता भित्र राखेको छ । सन २०१५ सम्म निरक्षरता उन्मुलन गर्ने गरी २०६९ मा सरकारले साक्षर नेपाल घोषणा गरेको थियो । सरकारले अन्तराष्ट्रिय क्षेत्रमा गरेका विभिन्न प्रतिवद्धाता को कार्यान्वयन गर्न साक्षर जिल्ला घोषणाले सहयोग गर्ने अधिकारीको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा माननिय न्याधिस प्रकास प्रसाद पण्डितले शान्तीपूर्ण वातावरणमा विद्यार्थीले अध्ययन अध्यापन गर्न पाउनु उनीहरुको अधिकार भएको बताए । सामान्य लेखपढकै आधारमा साक्षर जिल्ला घोषणा मात्रै ठुलो कुरा होइन् । यसलाई अझै निरन्तरता दिनुपर्ने उनको भनाई थियो ।
अनौपचारिक शिक्षा केन्द्रका उप निर्देशक बालकृष्ण गैरेले साक्षर जिल्लाका वासिन्दा भएकोमा जिल्लावासिलाई धन्यवाद दिदै बाकी रहेका निरक्षरलाई साक्षर र साक्षरलाई निरन्तर शिक्षामा जोड्दिनुपर्ने उनको भनाई थियो । निरक्षरलाई साक्षर बनाउने राज्यको मात्रै दायित्व नभएर तपाई हामीले आ आफ्नो घरबाट पनि पहल गर्नुपर्ने गैरेले बताए ।
साक्षर जिल्लाको साँसद हुन पाएकोमा आफुलाई खुसि लागेको माननिय साँसद अम्मर बहादुर थापाले बताए । उनले थपे, कुनै पनि वहानामा अब विद्यालय बन्द हुने छैनन् र विद्यालयमा नियमित अध्यन अध्यापनको वातावरण भई रहने छ ।
जिल्ला घोषणा कार्यक्रममा सरोकारवालाहरुबाट ३ बुदे साझा प्रतिवद्धा गरिएको थियो । जसमा जिल्लामा बाकी रहेका निरक्षर लाई साक्षर र साक्षर व्यक्तिहरुलाई निरन्तर र जीवनोपयोगी शिक्षा उपलब्ध गराउने, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन र गुणस्तरीय शिक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै विद्यालय शान्ति क्षेत्र र बालमैत्री विद्यालय निर्माण गर्न पहल गर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । यो कार्यक्रमलाई विद्यालय क्षेत्र, गाविस र जिल्ला धोषणा गर्नलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख र सेभ द चिल्ड्ेन ले सघाएका थिए ।
स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष डिलाराम पंथी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने साक्षर तथा शान्ति क्षेत्र विद्यालय जिल्ला घोषणा गर्न सहयोग गर्ने विभिन्न निकाय तथा व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक धिरेन्द्र प्रसाद शर्माले गरेका थिए ।