दैलेखमा मनाइयो विश्व बालश्रम विरुद्धको दिवस

Posted at:
June 13, 2018, 12:09 a.m.

दैलेख जेठ २९ – बालश्रम प्रयोग नगर्न आह्वान गर्दै दैलेखमा पनि विश्व बालश्रम दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । सोहि अवसरमा दैलेखका विभिन्न गाउँपालिका र नगरपालिका संगै सदरमुकाम दैलेख बजारको स्थानीय गणेश चौकमा चेतनामुलक नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरिएको छ । बालश्रम विरुद्धको अभियानलाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा चेतनामूलक संदेश लेखिएको प्ले कार्ड प्रर्दशन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्दै आएका युवाहरुको सहभागिता रहेको थियो । दैलेखका गैसरकारी संघ संस्थाको अगुवाईमा गरिएको कार्यक्रममा बाल श्रम रोकौ, द्धन्द्ध र विपद्मा परेका बालबालिकालाई बाल श्रमबाट संरक्षण गरौ, बाल अधिकारको सम्मान र संरक्षण गरौ, होटल तथा उद्योगहरुमा बालबालिकालाई श्रममा लगाउन पाइदैन जस्ता चेतनामुलक संदेश लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थियो । यसैविच दिवसको अबसरमा साझँ स्थानीय देवकोटा चोकमा दिपप्रज्वलन समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको सहभागितामा दिपप्रज्वलन गरिएको हो । दैलेख सदरमुकाम लगाएत जिल्लाका विभिन्न स्थानीय तहमा चेतनामुलक कार्यक्रमको आयोजना गरि बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई साथ दिन आह्वान गरेको जिल्ला बाल कल्याण समितिका सदस्य एंव सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । दैलेख सदरमुकाममा गरिएको चेतनामुलक कार्यक्रम बाल हेल्पलाइन १०९८ (दश नौ आठ), जिल्ला बाल कल्याण समिति दैलेख, सोसेक दैलेख लगाएतका सरकारी तथा गैरसरकारी निकायहरुको सयुक्त रुपमा आयोजना गरेका थिए । नेपालमा मूलतः गरिबी र जनचेनताको अभावका कारण लाखौंको संख्यामा बालबालिकाहरुले श्रम गर्न बाध्य हुनुपरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । सरकारले बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन ऐन, नियम र कानुन संशोधन गरेर अघि बढ्ने योजना पनि अघि सारेको छ ।